केपीले भनेः ‘नेतालाई भ्रष्टाचारी बनाउने जनता हो’
जनवरी, १० । एमाले नेता केपी ओलीले नेतालाई भ्रष्टाचारमा संलग्न गराउन जनताको ठूलो हात हुने बताएका छन् । उनको तर्क छ
‘हरेक निर्वाचनमा कतिपय उम्मेदवारबाट आर्थिक सहयोग लिएर त्यसैलाई निर्वाचित गर्ने प्रवृत्तिले उनीहरुलाई भ्रष्टाचार गर्न प्रेरित गरिरहेको हो।
मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘दक्षिण एसियामा विकास र लोकतन्त्र’ विषयक छलफल कार्यक्रममा नेता ओलीले निर्वाचनमा जनताका नाममा खर्च गरेको रकम उठाउन जित्ने व्यक्तिले भ्रष्टाचार गर्ने गरेको बताए।
उनले भने, ‘हामी नेतादेखि जनतासम्म आफैँ भ्रष्टाचारमा संलग्न भइरहेका हुन्छौ, अनि भ्रष्टाचार नियन्त्रणका नाममा ठूला-ठूला भाषण दिन्छौ, यस प्रकारको कार्यले सही अर्थमा प्रजातन्त्र र विकास अघि जान सक्दैन। जबकि लोकतन्त्र भनेको अति सीमान्तकृतलाई अघि ल्याउने विधि पनि हो।’