अमेरिका पुगेका पुराना हतियार फिर्ता ल्याउन पहल

जनवरी, १० । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले एक अमेरिकी नागरिकलाई बेचिएका पुरातात्विक महत्वका हतियार फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले पुरातात्विक महत्वका हतियार फिर्ता ल्याउन पहल थाल्न सरकारलाई निर्देशन दिएको हो । संसदकै राज्य व्यवस्था समितिले हतियार विक्रिबारे अध्ययन गर्न प्रदिप ज्ञवालीको संयोजकत्वमा छानविन समिति गठन गरिसकेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले हतियार पुरतात्विक महत्वका प्रमाणित भएमा सरकारले फिर्ता ल्याउनका लागि पहल भइरहेको बताउनु भयो । उहाँले राज्य व्यवस्था समितिको प्रतिवेदन आएपछि थप पहल हुने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो-’हातहतियारको बिक्री सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट कुनै कामकारबाही भएको अभिलेख वा जानकारी मन्त्रालयसँग नरहेकाले हतियार बिक्री र फिर्ताको पहल कूटनीतिक क्षेत्रमै गरिने छ ।’

बैठकमा रक्षा सचिव नवीन घिमिरेले नेपाली सेनाको आग्रहमा हतियार बेचिएको बताउनुभयो । उहाँले ३१ हजार दुइ सय १३ पुरानो हतियार, १३ हजार आठ सय ४५ विविध सामाग्री, वल्र्ड क्यानोन्स क्यारिजेज १ सय ८८ थान, अनसर्विसेवल वल्र्ड हतियार २५ हजार १ सय ४४, सोर्डवायोनेट २५ हजार ३ सय ८१ थान बेलायतको एट्लान्ता कट्लेरी कम्पनीलाई बेचिएको बताउनुभयो । बैठकमा सभासदहरुले हतियार फिर्ता गर्न सरकारले पहल नगरको भन्दै आलोचना गरेका थिए ।

समितिले चिनियाँ प्रधानमन्त्री बेनजिया बाओको नेपाल भ्रमणका लागि आवश्यक पहल थाल्न पनि निर्देशन दिएको छ ।

 

Your Comment